साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।
१. साउदी अरबमा कोरोना भाइरसको संक्रमणले यहाँँको नेपाली समुदायमाहरुमा परेको प्रभाव र यसका कारण परेका समस्या, समस्या समाधानमा विभिन्न कोणबाट हालसम्म भएका प्रयास र आउँदा दिनहरुमा गर्नुपर्ने कार्यहरूका बारेमा छलफल गर्न साउदी अरबका लागि नेपालका महामहिम् राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपूतले साउदी अरबमा कृयाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुसँग भिडियो नेटवर्कबाट छलफल गर्नुभयो ।
छलफलमा उपस्थित प्रतिनिधिहरुले संक्रमणका कारण आउँदा दिनहरुमा नेपाली कामदारहरुमा देखिने समस्याको समाधानमा राजदूतावाससँग सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताउनुभयो । सो अवसरमा महामहिम् राजदूतले संक्रमणको यो अवधिमा नेपालीहरुमा आइपरेका समस्या समाधानमा भए गरेका प्रयास र उपलब्धिका बारेमा प्रकाश पार्दै आगामी दिनहरूका लागि गर्नुपर्ने तयारीहरुका बारेमा जानकारी दिनुभएको थियो ।
उहाँले समुदायबाट भइरहेको सहयोगका लागि धन्यवाद दिनुभयो । कार्यक्रममा नवलपरासी मंच, मिथिला संस्कृति समाज, रोल्पा सेवा समाज, स्याङजा सहयोग समाज, कास्की सहयोग समाज, काभ्रे सेवा समाज, मोरङ सुनसरी सेवा समाज, नेपाली प्रवासी समाज हायल, गन्तव्य नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र केही समाजसेवीहरुको सहभागिता रहेको थियो । उक्त छलफलमा नियोग उपप्रमुख, श्रम काउन्सेलर र दम्माम स्थित नेपाली राजदूतावासका जनसम्पर्क अधिकारीको पनि उपस्थिति रहेको थियो ।
२. आज मिति २०७७।०१।२१ (मे ३, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २७,०११ पुगेको छ । आज थप १,५५२ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४,१३४ जना निको भएका छन् । आज ८ जना सहित आजसम्ममा जम्मा १८४ जना संक्रमितको मृत्यु भएको छ । आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले व्यापक सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको छ । नेपाली नागरिकहरुमा संक्रमण भएको हकमा जानकारी दिन साउदी सरकारलाई अनुरोध गरिएकोमा सरकारले क्षेत्रगत हिसाबले जानकारी उपलव्ध गराउने भएको छ । यसरी प्राप्त जानकारी क्रमशःसबैको जानकारीमा ल्याइने छ ।
३. कोरोना संक्रमणसंगै रोजगार गुम्ने, खाना र आवासको अभाव लगायत समस्यामा परेका नेपालीहरुले आफ्नो समस्या टिपाउन राजदूतावासका कर्मचारीहरुलाई फोन गर्दा आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्वर, इकामा नम्वर, आफ्नो काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम, आफनो समस्या प्रष्ट रुपमा दिनुहुन अनुरोध छ । कतिपय नेपालीहरुले राजदूतावासले अन्य राजदूतावासको जस्तै अनलाइन फारम राख्न समेत सुझाव दिनुभएको छ । ठूलो संख्यामा अनलाइन फारम भरेर पेश गर्न सहज नभएकाले टेलिफोनबाट विवरण संकलन गर्न लागिएको हो र र प्रभावकारी भएको छ । आफ्ना सम्पर्कमा रहेका साथीभाइमा पनि यो सूचना शेयर गरिदिनुहुन पुनः अनुरोध छ ।
नेपाली राजदूतावास
रियाद ।
२०७७।०१।२१
सम्पर्कः (०११४६१११०८ कार्यलय समयमा, ०५५९३८९६००(WhatsAppसमेत), ०५०००३१७०५, ०५०००३४७८६, email: eonriyadh@mofa.gov.np
Discussion about this post