साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।
१. साउदी स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । यस भाइरसको संक्रमणबाट बच्न थप सावधानी अपनाउनु आवश्यक भएको तर्फ सबैले गम्भीर ध्यान दिनु आवश्यक भएको छ ।
२. आज मिति २०७६।१२।२३ (अप्रिल ५, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३८५ पुगेको छ । गएको करीब ४८ घण्टाको अवधिमा ३४६ जना भन्दा बढीमा संक्रमण भएको छ । राजधानी रियादमा मात्र आज ६६ जनामा संक्रमण भएको उल्लेख छ । कूल संक्रमितहरु मध्ये हालसम्म ४८८ जना निको भएका छन् । आज ५ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
३. साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेको एवं नेपाली नागरिकहरुमा पनि संक्रमण भएकोले यो महामारीबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
४. कतिपय नेपालीहरुले कोरोना भाइरसको संक्रमण भइरहेको अवस्थामा पनि काम गरिरहनुपरेको गुनासो गरी टेलिफोन एवं पोष्टहरु गर्नुभएको छ । धेरै कम्पनीहरुले आफ्ना कम्पनीमा अत्यन्त न्यून जनशक्तिमा काम गराइहेका पाइएको छ भने कतिपय पूर्णरुपमा बन्द भएका छन् । अधिकांश कम्पनीहरुले सुरक्षाका अधिकतम उपायहरु अपनाएका जानकारीहरु पनि प्राप्त भएका छन् । तसर्थ, आफू कार्यरत कम्पनीमा उपलव्ध संक्रमण सम्बन्धी सुरक्षाका सबै उपायहरुलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचक्र्याई नगर्न अनुरोध छ ।
५. कृपया सावधानी र सचेतनाका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजना माझ पुर्याई एक अर्कालाई मद्दत गरौँ।
नेपाली राजदूतावास
रियाद
२०७६।१२।२३
Discussion about this post