भरतपुर । भ्रष्टाचारविरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई भरतपुर महानगरपालिकाकी मेयर एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रेणु दाहालका चालकले आक्रमण गरेको खुलासा भएको छ ।
शाहीमाथि आक्रमण गर्ने मुख्य आरोपी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी समेत रहेकी रेणुका चालक अविरल पोखरेल रहेको खुलासा भएपछि चितवनमा हँगामा भएको छ ।
पोखरेल भरतपुर महानगरपालिकाकी मेयर दाहाल निकट मात्र नभइ महानगरपालिकाकै चालक भएको तथ्य बाहिर आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेका भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय पोखरेल तीन महिनादेखि महानगरपालिकाको चालक भएको खुलेको छ ।
महानगरपालिकाकी उपमेयर पार्वती शाही ठकुरीले पोखरेललाई चालकका रुपमा हालै भर्ना गरिएको जानकारी दिइन् ।
पोखरेल चालकको रुपमा काममा आएपछि मात्रै आफूले थाहा पाएको उपमेयर ठकुरीले बताइन् । उनले भनिन, ‘अविरल पोखरेललाई मेयरले नै भर्ना गर्नुभएको होला ।’
पोखरेलले भरतपुर महानगरपालिकाबाट ३ महिनाको तलब पनि लिइसकेका छन् ।
भरतपुर महानगरपालिकाकी मेयर दाहालको चालक हुने गरी भर्ना गरिएका पूर्वमाओवादी कार्यकर्ता पोखरेलले महानगरको एउटा सवारी चलाउँदै आएका छन् ।
शाहीलाई आक्रमण गरेको आरोपमा व्यापक दवाव भएपछि पोखरेल पक्राउ परेका हुन् । भरतपुर महानगरपालिकाको कर्मचारी नभन्ने शर्तमा चालक पोखरेललाई पक्राउ दिन मेयर दाहालले नै लगाएको स्रोतले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले शाहीलाई आक्रमण गरेको अभियोगमा अविरल पोखरेललाई आइतबार साँझ पक्राउ गरिएको जानकारी दिएका छन् ।
नायब उपरीक्षक पौडेलले पक्राउ परेका पोखरेलमाथि अनुसन्धान शुरु गरिएको भन्दै अन्य आक्रमणकारीको खोजी भइरहेको जानकारी दिएका छन् ।
असोज ११ गते भरतपुरस्थित चौबीसकोठीमा ‘नेपालका लागि नेपाली’ले आयोजना गरेको कार्यक्रम शुरू हुन लाग्दा नागरिक भ्रष्टाचारविरुद्धका अभियन्ता शाहीमाथि आक्रमण भएको थियो ।
कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रो बसबाट फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो । आक्रमणबाट शाही गम्भीर अवस्थापमा पुगेका थिए ।
साभार :- रिपब्लिका दैनिक बाट
Discussion about this post