क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएकी छन् । केही फेसबुक पेजहरुले जानकारीबिना क्रिप्टोकरेन्सीको प्रचारमा आफ्नो भिडियो तथा तस्विर प्रयोग गरेको भन्दै उनले दोषीलाई कारवाहीको माग गर्दै सीआईबीमा उजुरी दिएकी हुन् ।
मेरो फोटो मिसयुज गरेर क्रिप्टोकरेन्सीको विज्ञापन बनाइएको रहेछ । दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै उजुरी दिएकी छु,’ प्रियंकाले अनलाइनखबरसँग भनिन् । उनले अगाडि भनिन्, ‘मलाई कसैले बोलाएको होइन । प्रहरीलाई छानबिनमा सघाउन र उजुरी दिन आएकी हुँ ।’ फोटो दुरुपयोग गर्ने व्यक्ति र फेसबुक पेजबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताइन् ।
क्रिप्टोकरेन्सी एक गुप्त मुद्रा हो, जुन इन्टरनेटमार्फत भर्चुअल मुद्राका रूपमा संसारभर चल्ने गर्छ । आम मानिसले दैनिक उपभोग गर्ने जुनसुकै सामान किन्दा पनि सरकारलाई कर तिर्नुपर्छ । तर, अनलाइन बेटिङ वा क्रिप्टो कारोबारका लागि ठूलो मात्रामा पुँजी बाहिरिँदा वा भित्रिँदा त्यो करको दायरामा आउँदैन । यही कारण नेपाल सरकारले क्रिप्टोकरेन्सीलाई नेपालमा अवैध मानेको छ ।
Discussion about this post